Educational Notes

एकाई २: जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

पाठ १: अनुसन्धान परिचय

क. तथ्यांक भनेको के हो?

उत्तर: तथ्यांक भन्नाले कुनै विषयसँग सम्बन्धित वस्तुगत तथ्यहरूलाई संख्यात्मक रूपमा प्रस्तुत गरिएको जानकारी हो। तथ्यांकले निश्चित अवधिमा, निश्चित स्थान वा समूहमा घटेका घटना, गतिविधि वा स्थितिको संख्यात्मक विवरण दिन्छ। उदाहरणका लागि जनसंख्या, जन्मदर, मृत्यु दर, निर्यात-आयातको विवरण आदि सबै तथ्यांकका रूप हुन्। यो नीति निर्माण, योजना बनाउने, अनुसन्धान र विश्लेषणका लागि अत्यन्त महत्वपूर्ण माध्यम हो।

ख. अनुसन्धान भनेको के हो?

उत्तर: अनुसन्धान भन्नाले नयाँ ज्ञान प्राप्त गर्न, कुनै विषयको गहिरो अध्ययन गर्न वा समस्याको समाधान खोज्न वैज्ञानिक तरिकाले गरिने व्यवस्थित खोज, परीक्षण र विश्लेषण प्रक्रिया हो। अनुसन्धानले प्रमाण, तथ्य र तर्कका आधारमा निष्कर्ष निकाल्छ, जसले शिक्षा, विज्ञान, प्रविधि, समाज, अर्थतन्त्र आदि क्षेत्रमा विकास र सुधारमा मद्दत गर्छ। यसमा जानकारी सङ्कलन, परीक्षण, विश्लेषण र निष्कर्ष निकाल्ने चरणहरू समावेश हुन्छन्।

ग. तथ्यांकका स्रोतहरू कति प्रकारका हुन्छन्? उदाहरणसहित स्पष्ट गर्नुहोस्।

उत्तर: तथ्यांकका स्रोतहरू मुख्यतः दुई प्रकारका हुन्छन्:

  • प्राथमिक स्रोत: नयाँ, ताजा र प्रत्यक्ष रूपमा संकलन गरिएका तथ्यांकहरू हुन्, जुन कुनै विशेष उद्देश्यका लागि अनुसन्धानकर्ताले आफैंले सङ्कलन गरेका हुन्छन्।
    उदाहरण: सर्वेक्षण, प्रत्यक्ष अन्तर्वार्ता, प्रश्नावली, प्रयोग आदि।
  • द्वितीयक स्रोत: पहिले नै अरू कसैले संकलन गरिसकेका तथ्यांकहरूलाई पुन: प्रयोग गर्ने प्रक्रिया हो।
    उदाहरण: पुस्तक, पत्रपत्रिका, समाचार, सरकारी प्रतिवेदन, वेबसाइटहरू आदि।

घ. परिणात्मक तथ्यांक तथा गुणात्मक तथ्यांकको उदाहरणसहित परिचय दिनुहोस्।

उत्तर:

परिणात्मक तथ्यांक: परिणात्मक तथ्यांक भन्नाले संख्यामा व्यक्त गर्न सकिने, गणना गर्न सकिने तथ्यांक हो। यसले परिमाण, मापन, र संख्यात्मक विश्लेषणमा आधारित जानकारी दिन्छ।

उदाहरण: एक दिनमा औसत ३ लिटर पानी पिउने गरिन्छ।

गुणात्मक तथ्यांक: गुणात्मक तथ्यांक भन्नाले वर्णनात्मक, गुण वा विशेषता जनाउने तथ्यांक हो जसलाई संख्यामा मापन गर्न सकिंदैन। यसले वस्तु, व्यक्ति वा घटनाको प्रकार, गुणस्तर, रुचि, व्यवहार आदि जनाउँछ।

उदाहरण: विद्यार्थीहरूको मनपर्ने विषय: गणित, विज्ञान

ङ. तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन्? उदाहरणसहित स्पष्ट पार्नुहोस्।

उत्तर: तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी दुई प्रकारका हुन्छन्।

(क) प्राथमिक स्रोत: प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ। यसलाई अध्ययन गर्ने व्यक्ति वा समूहले आफैले संकलन गरेको हुन्छ।

उदाहरण: सर्वेक्षण, अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि।

(ख) द्वितीय स्रोत: अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका तथ्याङ्कहरूलाई द्वितीय स्रोत भनिन्छ। यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्।

उदाहरण: जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यमहरू।

पाठ २: जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध →